काठमाडौं । नेकपा प्रदेश ३ को १० जिल्लाको एकता टुंगिएको छ । १३ जिल्ला रहेको प्रदेश ३ का १० जिल्लामा पार्टी एकता टुंगिएको हो । काभ्रे, चितवन र ललितपुरमा भने विवाद कायमै छ । काभ्रेबाट निर्णय गर्न आईतबार प्रदेश बैठक बसेपनि कुनै निर्णय लिन सकेन् । त्यस्तै चितवन र ललितपुरमा तत्कालीन माओवादीतर्फको विवाद छ ।
जिल्ला कमिटीलाई पूर्णता दिन आइतबार प्रदेश ३ को बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियो । काभ्रेमा तत्कालीन एमालेले पाएको संख्यामा समेटिने जिल्ला नेतामा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा सन्तुष्ट छैनन्।
काभ्रेमा बन्ने १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन एमालेका ७८ र माओवादीका ६७ जना रहने छन्। पार्टी सचिवालयले जिल्ला अध्यक्षमा तत्कालीन माओवादीका रुकु चौलागाई र सचिवमा टोकबहादुर वाइबालाई चयन गरेको थियो ।
नेकपा प्रदेश ३ ले काभ्रेको जिल्ला बैठक ११ गतेका लागि तोकेको छ । जेठ ७–१७ सम्म प्रदेशअन्तर्गतका सबै १३ जिल्लाको बैठक राख्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको थियो। चितवन र ललितपुरमा भने माओवादीतर्फको आन्तरिक विवादले एकता टुंगिन नसकेको हो । अन्य १० जिल्लामा भने सहमतिकै आधारमा एकता टुंगिएको नेकपाले जनाएको छ ।





























प्रतिक्रिया