काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताए ।
सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताए । लोकतन्त्रमाथि प्रहार गर्नेहरुमा प्रतिगामी तत्व (राजावादी) र विप्लव माओवादी दोस्रो र तेस्रो रहेको पनि उनले बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिष्टले गर्दैछ । दोस्रो प्रहार देशका प्रतिगामी तत्वहरुले गर्दैछन् र तेस्रो प्रहार हिजोकै माओवादी भित्रका विप्लबले गर्दैछ । यी सबै तत्वहरु लेकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने, लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हुन् ।’
वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु नै लोकतन्त्रवादी नभएकाले जनताले दुःख पाइरहेको बताए । अलोकतान्त्रवादीहरुले सरकार चलाइरहेकाले लोकतन्त्र संकटमा पार्न खोजिएको बताए । तर नेपाली कांग्रेस रहदासम्म लोकतन्त्रलाई संकटमा पार्न नदिने समेत वरिष्ठ नेता पौडेलले बताए।
वरिष्ठ नेता पौडेलले राजाको निर्दलिय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युनिष्टहरुले पुल बनाउँदा करङ्ग भाँचिदिएको बताए । उनले राजा र कम्युनिष्ट एक सिक्काका दुई पाटा भएको टिप्पणी समेत गरे ।
देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको पनि वरिष्ठ नेता पौडेलले बताए। राज्यको ढुकुटी मासेर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको पनि उनले बताए । भ्रष्ट्राचारमा सरकार डुबिसकेको पनि वरिष्ठ नेता पौडेलले बताए । कम्युनिष्ट पार्टीकै बहुमत नेताहरुले नै सरकार भ्रष्ट्राचारमा डुबिसकेको बताइसकेकाले अरु भन्नु पर्ने कुरै नभएको पनि उनले बताए । सरकारले सत्ताको दुरुपयोग गरिरहेको आरोप उनको छ ।
७० वर्षसम्म जनताले लडेर ल्याएको संविधान र सपुतहरुको अथक प्रयासबाट कायम भएको व्यवस्था खलबलाउने काम भएको पनि उनले बताए । सरकार कम्युनिष्ट पार्टीको भएपनि देश कम्युनिष्ट नभएको भन्दै सरकारले देशलाई कम्युनिजम बनाउने दुस्साहस गरिरहेको बताए ।
अहिले देश पूर्ण रुपमा असफलतातिर गइरहेको र त्यसको हिसाब अवको चुनावमा जनतासँग माग्ने पनि वरिष्ठ नेता पौडेलले बताए । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसबाट कुनै कमि कमोजरी भएमा सुधार गरी सच्याएर अगाडि बढ्न चाहेको पनि प्रष्ट पारे ।































प्रतिक्रिया