कार्यव्यवस्था बैठकमा सभामुखले भने: अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ

कार्यव्यवस्था बैठकमा सभामुखले भने: अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले अब दलहरूबीच ध्रुवीकरण नभइ सहकार्यमा जानुपर्ने बताएका छन्।

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले अब दलहरूबीच ध्रुवीकरण नभइ सहकार्यमा जानुपर्ने बताएका हुन्।

उनले भने,‘संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ। यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गरेको थियो। यो पनि सहमतिको एउटा अंश हो। अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ। आज सहकार्य गरौं। संसदमा मतभेदहरु हुन्छन्, विषयमा बहसहरू हुन्छन्। तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ।’

प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधि सभा बैठकअघि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

बैठक अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ।

आजको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ।

संसदीय समिति गठनका विषयमा सत्तापक्ष र विपक्षबीच सहमतिको प्रयास भएपनि सहमति हुन सकेको छैन।

Logo