काठमाडौं ।
सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभरि प्रदर्शन गरेको छ । दुई साता अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा एक पुल उदघाटनको क्रममा प्रहरीले रोक्ने प्रयास गरेपछि कांग्रेस तातिएको थियो । सोमवारको देशव्यापी प्रदर्शन तनहुँ घटनाका कारण मात्र नभइ कांग्रेसले दशैँ अगाडिदेखि नै सरकारविरुद्ध गर्दै आएको खबरदारीको परिणाम भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।
विशेष गरेर कांग्रेसको पहिलो माग सत्तारुढ दल भित्रको घरझगडामा मात्र केन्द्रित नभइ समग्र जनताका समस्यामा केन्द्रित गराउनु रहेको कांग्रेसको भनाइ छ । यस्तै देशव्यापी प्रदर्शनको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सोमवारको प्रदर्शन सांकेतिक सुरुवात मात्र भएको र आगामी दिनमा सडकदेखि संसदमा कांग्रेसले तीव्र दबाब दिने घोषणा गरेका थिए । सोही अनुरुप सोमबार देशभर प्रदर्शन गरिएको हो ।

संसदमा यथेष्ट बहुमतका साथ गठित वर्तमान सरकार अहिले आन्तरिक कलहमै रुमलिइरहेको छ । जुट्ने कि फुट्ने भन्ने दोधारमा अल्झिएको नेकपाको दैध प्रकृतीका कारण त्यसको प्रत्यक्ष असर सरकारले बेहोरी रहेको छ । अहिलेसम्म आन्तरिक कलह नै प्रधान चुनौतीका रूपमा बेहोरिरहेको सरकारलाई अब विस्तारै बाह्य चुनौती पनि थपिँदै गएको देखिन थालेको छ ।
गत साता देशका विभिन्न ठाउँमा राजावादीहरूले प्रदर्शन गरेका थिए । यही समय वर्तमान व्यवस्थाको विरुद्ध विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी सक्रिय देखिएको छ । यही आधारमा टेकेर कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कारण मुलुकभरका सडकमा राजा आऊ, देश बचाऊ भन्ने नारा घन्किन लागेको बताएका छन् । आजको आन्दोलनका क्रममा मकवानपुरको हेटौडामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारकै कारण राजावादीहरूलाई यस्तो नारा लगाउने हिम्मत आएको दाबी गरेका हुन् । वर्तमान सरकारले संविधान, कानुन र नियम विपरित काम गरेर सर्वसत्तावाद लागू गर्न खोजिरहेको आरोप देउवाले लगाएका छन् । सरकारले बलात्कारका घटना दिन प्रतिदिन बढ्दा पनि आरोपीलाई पक्राउ गर्न नसकेको देउवाको आरोप छ ।
यस्तै नेता गगन थापाले सडकमा आएको कांग्रेस अब त्यसै घर फर्केर नजाने बताएका छन् । प्रदर्शनका लागि कैलाली पुगेका थापाले कोरोना महामारीका बीच सडकमा आउनु पर्दा दुःख लागेको बताए । सरकार संसदबाट भागेको आरोप लगाउँदै नेता थापाले अब बालुवाटारको दुलोभित्र लुकेको सरकार र बढारिएको सरकारलाई ललकार्नका लागि कांग्रेस सडकमा आएको र सडकमा आएको कांग्रेस अब त्यसै घर फर्केर नजाने बताएका छन् । आजको प्रदर्शनमा कांग्रेसले सरकार असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेको छ ।































प्रतिक्रिया