‘देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर’ : मन्त्री त्रिपाठी

‘देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर’ : मन्त्री त्रिपाठी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्थानीय तहको भूमिकामा देशको राजनीतिक प्रणाली अडिएको बताएका हुन् । स्थानीय तहको काम कारबाहीमा अहिलेको व्यवस्थालाई सफल बनाउने अथवा औचित्यहिन बनाउने भन्ने निर्भर रहेको पनि मन्त्री त्रिपाठीले बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा अथवा चन्दा पुरस्कारमा प्राप्त नभएकाले कसैले पनि समाप्त पार्न नसक्ने दावी समेत उनको छ । कोभिडको समयमा स्थानीय तहले गरेको काम कारबाहीबाट नै संघीयता आवश्यक छ भन्ने पुष्टि भइसकेको पनि मन्त्री त्रिपाठीले बताए। यस्तै संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको पनि बताए । संविधानले स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको भएर नै स्थानीयतहले असाधारण काम गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका सिङ्गो देशबासिको भएको बताए । त्यसैले काठमाडौंको विकासमा सबैको चासो रहेको मेयर शाक्यले बताए । काठमाडौंमा स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै भएकाले काठमाडौंलाई सफा, स्वच्छ, हराभरा, धुलो मुक्त र हिलो मुक्त बनाउन सबैको साथ आवश्यक रहेको पनि मेयर शाक्यले बताए ।

महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष आजकै दिन महानगर दिवस मनाउँदै आएको छ । महानगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

Logo