कांग्रेसले प्रधानमन्त्रीसँग खाेज्याे सिरोहियालाई पक्राउ गर्नुको कारण

कांग्रेसले प्रधानमन्त्रीसँग खाेज्याे सिरोहियालाई पक्राउ गर्नुको कारण

केन्द्रबिन्दु
98
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुको कारण खोजेको छ ।

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेसले सिरोहियालाई पक्राउ किन गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई पक्राउ गरेको थियो । हाल उनी धनुषा प्रहरीकाे हिरासतमा छन् ।

साथै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ पनि मागेको छ ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भने अनुपस्थित थिए ।

Skip This
Logo