काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ।
यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन।
कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरु उपस्थित रहेका थिए।
बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ। बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताए।
उनले भने,’सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ। त्यो कुरामा सहमति हुन सकेन।’
यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो।
आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ।































प्रतिक्रिया