काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को अवरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ।
प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका हुन्।
कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिनुभएको जानकारी दिए। प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उनले बताए।
उनले भने,‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला। कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ।’
संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो। कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गरेको कांग्रेस नेता परियारले जानकारी दिए।































प्रतिक्रिया