मानिस किन रिसाउँछ ? यसको जवाफ आम मानिसलाई थाहा नै छ । तर, कांग्रेसजन किन रिसाउँछन् भन्ने प्रश्न चाहीँ अलि फरक छ । त्यो भन्दा पनि धेरै फरक छ, मिनेन्द्र रिजालको रिस ।
गत बैशाख २४ गते संसदमा मिनेन्द्र मज्जैसँग रिसाए । उनले बोल्दा घाँटीका नशा फुलेर हरिया भए । अनुहार रातो भयो । आक्रोशले रिसाएको बाघको जस्तो हुन खोज्यो उनको अनुहार । बोली धसियो । उनको रिस देखेर छेउछाउका सांसदहरु समेत ट्वा परे । तर, पनि मिनेन्द्र बोल्न छोडेनन् ।
सभामुख र प्रधानमन्त्रीले पटक पटक सम्झाउँदा वा ध्यानाकर्षण भयो भनेर जानकारी गराउँदा समेत मिनेन्द्रले मानेनन् । यसरी रिसाइरहे मानौं उनी अन्तिम पटक रिसाएका हुन् ।
मिनेन्द्र रिजाल अब्बल दर्जाका कांग्रेस नेता हुन् । किनभने उनीसँग आम कांग्रेसीहरुसँग भन्दा फरक गुण र विशेषताहरु रहेका छन् । पहिलो त उनी नामको अगाडि डाक्टर लेख्छन् । पिएचडी गर्ने कांग्रेस नेता औंलामा गनिन्छन् । त्यसैले उनी नि–संदेह पढे लेखेका बौद्धिक र ज्ञानीको कोटीमा दरिने नै भए ।
छोटकरीमाभन्दा मिनेन्द्र फरक कांग्रेस हुन् । फरक भएकै कारणले उनी यतिविधी चर्किरहँदा छेवैमा उभिइरहेका उनीभन्दा ठूला कांग्रेसजनहरु अवाक छन् । अरु कसैको अनुहारमा रत्तीभर आक्रोश नहुँदा पनि उनी मज्जासँग रिसाउन सक्छन् । यो भन्दा फरक हुने अर्को प्रमाण के चाहियो र ?
कतिपयले उनको क्रोधमा पनि बौद्धिकता देखेको हुनुपर्छ । उनी डाक्टर भएकाले नै हो कि सम्हाल्नै नसक्ने गरी रिसाउन सकेको । उनको अगाडि सुजातादेखि देउवासम्म पनि ‘डरछेरुवा’ जस्ता लागे । एउटा प्रश्न धेरैको मनमा आएको हुनुपर्छ, मिनेन्द्रले पिएचडी गरेको विषय चाहीँ कुन हो ? धेरैलाई थाहा छैन । तर, उनको भावभंगी देख्दा लाग्छ, पिएचडीको विषय नै ‘क्रोध’ हो ।





























प्रतिक्रिया