सम्भवको खुलासा: रविले समाचार लुकाइदिन धेरै अनुरोध गरे, नलुकाएपछि बुवालाई पक्रे

सम्भवको खुलासा: रविले समाचार लुकाइदिन धेरै अनुरोध गरे, नलुकाएपछि बुवालाई पक्रे

केन्द्रबिन्दु
224
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा तथा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले कैलाश प्रकरणबारे मुख खोलेका छन्।

शुक्रबार समाजिक सञ्जालमा एक भिडियो जारी गर्दै निर्देशक सिरोहियाले नागरिकता प्रकरणमा आफ्ना बुवा कैलाशलाई गृहमन्त्री रवि लामिछानेले समाचार लुकाइदिन धेरै अनुरोध गरेको तर, समाचार नलुकाएपछि बुवालाई पक्राउ गरेको खुलासा गरेका छन्।

उनले भनेका छन्, ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नबुझ्नु भएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो।’

यस्तै, उनले आफ्ना बुवा(कैलाश)का दाइहरू जन्मदा हजुरबुवाले नागरिकता प्राप्त गरिनसकेको र कैलाश जन्मिदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरेको हुँदा वंशजका आधारमा नागरिकता प्राप्त गरेको बताएका छन्।

उनले भने,‘आज उहाँले लगाउनु भएको झूटो आरोपको सत्य बताउन चाहन्छु। कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। उहाँ जन्मदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गर्नुभएको हो। भ्रमचाहिँ के फैलाइयो भने कैलाश सिरोहियाका दाइहरूले अर्कै क्याटेगोरी (किसिम) को नागरिकता पाएका छन्, उहाँले अर्कै क्याटेगोरीको पाउनुभयो। गृह मन्त्रालयको नियम गृहमन्त्री आफैले बुझ्नुपर्ने हो। दाइहरू जन्मदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो। यति सामन्य कुरालाई के-के न जस्तो हल्ला गरियो।’

कैलाश नागरिकता प्रकरणमा केही दिन अगाडि पक्राउ परेका थिए। केही दिनपछि उनलाई हाजिर जमानीमा छोडिएको थियो।

Logo