काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ ले पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन्।
शनिबार ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ को ग्रान्ड फिनालेमा उनले डिजिटलको माध्यमले लुकेर बसेका प्राकृतिक सौन्दर्यहरू र सम्भावित गन्तव्यहरूलाई समाजसामु ल्याउन सकिने भन्दै यसले पर्यटनको आगमनलाई पनि सहयोग पुग्ने बताए।
उनले भने, ‘आज दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४ को जुन ग्रान्ड फाइनल कार्यक्रमको आयोजना भएको छ यो नेपालको पर्यटन प्रवर्द्धनका लागि निकै फलदायी हुने खालको कार्यक्रम हो। यसले पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छु। किनभने यहाँ हाम्रो लुकेर बसेका प्राकृतिक सौन्दर्यताहरु, लुकेर बसेका सम्भावित गन्तव्यहरुलाई फोटोमार्फत सार्वजनिक गरेको छ।’
यस्तै, एउटै स्थानमा बसेर सबै ठाँउहरुको बारेमा जानकारी दिनुपनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ।
प्रतियोगितामा चारवटा प्रकृति, संस्कृति, पिपुल, वाइल्ड लाइफ मुख्य विधा रहेको छ। चारवटा विभिन्न विधामा हुन लागेको यस प्रतिस्पर्धामा हरेक विधामा उत्कृष्ट बिजेतालाई ५० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने छ।
छानिएका तस्विरहरूमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ।
कार्यक्रमको पहिलो दिन हिजो पर्यटनका विषयमा प्यानल डिस्कसन भएको थियो भने फोटोग्राफी प्रतियोगिता भएको हो।
प्यानल डिस्कसनमा पर्यटन र वातावरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका निति, निर्माणका विषय, पर्यटन प्रवर्द्धन तथा सरोकारका विषयसँगै जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभाव र आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल भएको थियो।































प्रतिक्रिया