राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छः अध्यक्ष ओली

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छः अध्यक्ष ओली

केन्द्रबिन्दु
28
Shares

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताएका हुन् । उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान सुरुआत गरिसकेको बताए ।

“राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको हो”, उनले भने,“त्यसका लागि एमालेले मिसन ८४ लाई टर्निङ प्वाइन्टका रुपमा लिन्छ, सोहीअनुसार सम्पूर्ण पार्टीपङ्क्ति लाग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताए । “एमाले सत्तामा जान मिसन ०८४ भनेको हैन, नागरिकलाई उत्पादनशील जनशक्ति बनाएर सबै नेपालीलाई सुखी बनाउनका लागि हो, अन्य पार्टीले पनि सोही सिको गरेका छन्”, उनले भने ।

अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिए । कृषि क्रान्तिलाई असाधारणरुपमा लैजानसके मात्र नागरिकलाई समृद्ध र सुखतर्फ डोर्याउन सकिने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले देशैभर एमाले जिल्ला अधिवेशनको लहर चलिरहेकाले ‘प्यानल’ बनाएर हैन एकताका साथ नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

Logo