काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरमबीच पार्टी एकता गर्ने सहमति भएको हो । शनिबार काठमाडौंमा बसेको दुई पार्टीको बैठकपछि बैशाख २३ गते सोमबार एकता गर्ने सहमति भएको हो ।
सरकारमा रहेको फोरम र सरकारबाहिर रहेको नयाँ शक्तिबीच पार्टी एकता हुन लागेको हो । फोरमले सरकारमै रहने कि बाहिरिने भन्ने विषयमा कुनै टुंगो लगाउन सकेको छैन् । शुक्रबार राष्ट्रिय जनता पार्टी पनि पार्टी एकताबारे भएको छलफलमा बसेको थियो ।
नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा शनिबार बसेको बैठकमा बाबुराम भट्टराई, उपेन्द्र यादवसँग राजपाका महन्थ ठाकुर र राजेन्द्र महतो पनि छलफलमा जुटेका हुन् । राजपाले पार्टी एकतामा केही समय पर्खन नयाँ शक्ति र फोरमलाई आग्रह गरेको छ। आफूहरु पनि पार्टी एकता गर्ने भन्दै राजपाले समय मागेको थियो ।
नयाँ शक्ति र फोरम भने बैशाख २३ गते सोमबार पार्टी एकता गर्ने गरी मिति समेत तय गरेका हुन् । दुई जना अध्यक्ष रहने गरी पार्टी एकता गर्न दुवै पार्टी तयार भएका हुन् । नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिएको छ । वैशाख २३ गते प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरेर घोषणा गरिने दुवै अध्यक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।






























प्रतिक्रिया