नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले टि२० विश्वकपमा नेपाल क्रिकेट संघ (क्यान)ले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले क्यानले अमेरिकामा नेपाललाई जिताउने भन्दा पनि हराउने खेल खेलेको भन्दै तत्काल कारबाही गर्न माग गरेका हुन् । अवैध रूपमा जर्सी अमेरिका लगेर महँगोमा बेचेर त्यसको दुरुपयोग गरेको पनि उनको आरोप छ ।
‘क्यानले अमेरिकामा नेपालको बेइज्जत गर्यो । खेलाडीहरुको शिर निहुरियो । जिताउने भन्दा पनि हराउन भूमिका खेल्याे। अवैध रूपमा जर्सी अमेरिका लगेर महँगोमा बेचेर त्यसको दुरुपयोग गरेको गुनासो आएको छ । अमेरिकामा बस्ने नेपालीसँग अवैध रूपमा चन्दा उठाएको र सो रकम क्यानको खातामा नराखेको गुनासो आएको छ,’ उनले भने, ‘छानबिन आयोग बनाएर सरकारले यथाशिघ्र छानबिन गरोस् र दोषीमाथि कारबाही गरोस् ।’
सांसद आचार्यले नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरिएका कारण उनले भीषा नपाएको दाबी गरे। ‘जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो?,’ उनकाे प्रश्न थियाे । साथै उनले विश्वकपमा अमेरिका जान डाक्टरको कोटामा एक जना महिलाको नाम पठाएको र त्यसलाई आईसीसीले नमानेपछि चलखेल भएको पनि बताएका छन् ।





























प्रतिक्रिया