चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताएका हुन्।
मन्त्री यादवले भने, “अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या हुदैन। सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्न वा अन्यन्त्र पठाउन सकिन्छ।”
स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने उनले जानकारी दिए। बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताए।
मन्त्री यादवले भने, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौँ। कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौँ।” उनले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहात पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए।
बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिए। जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उनले बताए।
मन्त्री यादवले भने, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ। त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ।” आवश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उनको भनाइ छ।































प्रतिक्रिया