बढ्दो आन्तरिक कलहका बीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग उठेकाे छ ।
रास्वपा दुर्घटना उन्मुख अवस्थामा रहेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेर राजनीतिक तरंग फैलाएका महामन्त्री डा. मुकुल ढकालले यही बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति रवि लामिछानेलाई प्रस्ताव गरेका हुन् ।
साे बैठककाे छलफलको एजेन्डा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनका सन्दर्भमा छ ।
इलाम २ को प्रतिनिधि सभा उपचुनावमा शिर्ष नेतृत्व नै होमिँदा पनि रास्वपाले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए। उनले ३९ जिल्लाका २ हजार ७९ जना नेता—कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेका थिए । तर सभापति रवि लामिछानेलाई बुझाउनुअगावै सञ्चारमाध्यममा पार्टी संकटमा रहेको र चुनावमा राष्ट्रिय पार्टी बन्न गाह्रो पर्ने बताएपछि पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएको हो ।
स्थलगत भ्रमणपछि तयार पारेको समीक्षा प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाडौंका महानगरका प्रमुख बालेन शाहसहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव आएको जनाएका थिए। यसै विषयलाई लिएर महामन्त्री ढकालमाथि पार्टीले कारबाही नै गर्न सक्ने आशंकाका बीच ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । पार्टीमा अहिले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने मत बलियो छ ।
प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको महामन्त्री ढकालको भनाई छ । अब रास्वपाका सभापति लामिछानेले के गर्लान् भन्ने आमचासोको विषय बनेको छ ।





























प्रतिक्रिया