काठमाडौं ।
प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई लगाएको आरोप स्थायी कमिटीको बैठकमा पुगेपछि विवाद समाधान गर्न २८ गते सम्मका लागि बैठक रोकियो । सहमति खोज्ने समयका लागि बैठक रोकेको ६ दिन बितिसक्दा पनि ओली र दाहालको कुरा मिलेको छैन । सहमति खोज्ने भन्दा ओली र पुष्पकमल दाहाल–माधव नेपालको समूह आ–आफ्ना गुटका भेला गरिरहेका छन् । ओली आफ्ना नेताहरुसँग दिनहुँ बालुवाटारमा बैठक गर्छन् । ती बैठकमा स्थायी कमिटीमा पुगेका प्रस्ताव फिर्ता गरेर आफूलाई फाइदा हुने खालको अबस्था तयार गर्ने कुराकानी हुने गरेको छ ।
ओली समूह निकटका नेताहरुले भने अनुसार सहमति खोजेर जाने हो भने प्रस्तावहरुमाथि बहस आवश्यक छैन । प्रधानमन्त्री ओलीले स्थायी कमिटीलाई पठाएको पत्रमा पनि प्रस्ताव फिर्ता गरेर जानुपर्ने उल्लेख गरेका छन् । दुई दिन अघि ओली र दाहालबीच बालुवाटारमा भेटघाट भएको थियो । त्यो भेटघाटमा ओलीले सहमतिसाथ जानका लागि दाहालको प्रस्ताव फिर्ता हुनु पर्ने शर्त राखेका थिए । दाहालको प्रस्तावमा लगाएका आरोपहरु मान्न आफू तयार नभएको उनले भनेका थिए । ओलीले दुई अध्यक्ष मिल्नुपर्ने कुरा गरिरहेका छन् । यसअघि पनि ओलीले दुई अध्यक्ष मिल्दाखेरी सहमति भएकोले पार्टी एकता पनि दुई पार्टीबीच भएकाले अहिले पनि मिल्नु पर्ने कुरा गरेका छन् । तर यसअघि भएका सहमति पनि राम्ररी पालना नगरेकाले दाहाल विनासर्त मिल्ने पक्षमा छैनन् । ओलीले माधव नेपाल छोडेर आफूसँग मिल्न फेरि पनि आग्रह गरेका छन् । यो आग्रह फुटाउने र आफू नै माथि पर्न खोज्ने ओलीको योजना अन्तर्गत आएको दाहालको मूल्यांकन छ । त्यसैले दुई दिन अघि ओलीसँगको भेटमा दाहालले एक अर्कालाई खेलाउने कोसिस नगर्न भन्दै ओलीलाई जवाफ दिएका थिए ।
यसपटक यसअघिको जस्तो दाहाल र नेपाल ओलीसँग गल्ने जस्तो छैनन् । केही दिन यता ओली समूहका भन्दा बढी भेला दाहाल र नेपाल समूहले गरेका छन् । अघिल्लो हप्ता थापाथली क्याम्पसमा विद्यार्थी संगठनको भेला गरेका थिए । त्यो बेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने लगायतले सम्बोधन गरेका थिए । उक्त भेलापछि अन्य स–साना भेला चलिरहेका थिए । फेरि हिजो बिहिबार दाहाल नेपाल समूहले बागमति प्रदेशस्तरको भेला गरे । उक्त भेलामा अध्यक्ष दाहाल र माधव नेपाल नै पुगेर सम्बोधन गरे । त्यो सम्बोधनमा दाहालले पटक पटक प्रयास गर्दा पनि ओली इमान्दार नभएको धारणा राखेका थिए । सके सम्म पार्टीभित्र नेताहरुबीच एक आपसमा खेल्ने काम गर्ने गरेको उनको भनाई थियो ।
वरिष्ठ नेता माधव नेपालले पनि भेलालाई सम्बोधन गरेका थिए । नेपालले पनि सबै विषय अब पार्टीको बैठकबाटै छिनोफानो गर्नु पर्ने बताएका थिए । दाहाल र नेपाल गुट स्थायी कमिटी बैठकबाटै टुंगो लगाउनु पर्ने अडानमा छ । ओलीले बैठक नै छल्ने गर्न थालेपछि दाहाल र नेपाल झन् बढी रिसाएका छन् । ओलीले बैठकमा आएर आफ्नो कुराहरु भन्नु पर्ने त्यसपछि जे गर्ने हो त्यही बैठकबाट गर्ने भन्ने उनीहरुको धारणा छ । बैठकबाटै छिनोफानो गर्ने कुरा ओलीले स्वीकारेका छैनन् । पार्टीको महाधिवेशन नभएसम्म बुहमत अल्पमतको प्रक्रियामा आफू नजाने ओलीले बताएका छन् । महाधिवेशनसम्म संक्रमणकाल भएकाले अहिले बहुमत अल्पमतमा जाँदा एकता प्रभावित हुने प्रधानमन्त्री ओलीले भन्दै आएका छन् ।
दाहाल-नेपालले स्थायी कमिटी बैठकबाटै टुंगो लगाउनु पर्छ भन्ने अडान लिनु र ओलीले बैठकबाट हुँदैन भन्नुका पछाडी बहुमत अल्पमतको कारण जोडिएको छ । किनभने अहिले सचिवालय, स्थायी कमिटी र केन्द्रीय समिति तीनवटै संरचनामा ओली कमजोर छन् । दाहाल र नेपाल मिल्दा तीन वटै कमिटीमा बुहमत पुग्छ । अहिले सचिवालयका नौ जनामा ५ जना ओलीको खुल्ला विपक्षमा छन् । त्यस्तै ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १२ जना मात्र छन् । अरु दाहाल र नेपाल पक्षका हुन् ।
केन्द्रीय समितिमा पनि माओवादी र एमाले एकता हुँदा ६० र ४० प्रतिशतको भागबण्डा भएको थियो । यो भागबण्डा अनुसार अहिले तत्कालिन एमालेका एउटा समूह ओलीसँग रिसाएकाले दाहाल र नेपाल मिल्दा केन्द्रीय समितिमा पनि बुहमत पुग्छ । बुहमतको बल भएकाले यसपटक ओलीलाई त्यही अनुसार झुकाउन सकिन्छ भन्नेमा दाहाल नेपालको उद्देश्य छ । ओली चाहीं बुहमतले अहिले निर्णय मान्यो भने आफू पदबाट बाहिरिनु पर्ने ठानिरहेका छन् । त्यसैले बाहिरिनु पर्ला भनेर महाधिवेशनसम्म बुहमत अल्पमतमा जान नहुने अडान राखेका छन् । दुई गुटको यी अडानमा आजसम्म कुरा मिलेको छैन । त्यसैले आउँदो आइतबार बस्ने स्थायी कमिटी बैठकले कुन मोड लिन्छ स्पष्ट भइसकेको छैन ।





























प्रतिक्रिया