सत्तारूढ दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन आवश्यक रहेको औंल्याएका छन् ।
ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा गरेको पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा संघीय सांसदसमेत रहेका भट्टराईले राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
‘संविधानमा केही कुराहरूलाई हामीले नयाँ ढंगले हेर्नुपर्नेछ, बुझ्नुपर्नेछ । त्यसको अर्थ नेपालको राजनीतिक व्यवस्थालाई पछाडि फर्काउने होइन । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ सम्बोधन गर्नुपर्नेछ । संशोधन गर्नुपर्नेछ ।’ उनले भने, ‘यसको निम्ति नेपाली कांग्रेस र एमालेले अग्रसरता लिए पनि संसद्मा भएका अथवा नभएका राजनीतिक शक्तिहरू र पार्टीहरूलाई एकसाथ लिएर हामी त्यो कार्यभारलाई समेत पूरा गर्ने गरी अगाडि बढ्न सोचिरहेका छौँ । विद्वान्हरूले संविधानका बारेमा आफ्ना सुझावहरू हामीले प्राप्त गर्ने नै छौँ । त्यसले संविधानलाई अझै गतिशील बनाउन, संविधानलाई अझै राम्रो बनाउनका निम्ति सहयोग गर्ने नै छ ।’
साथै उनले एमाले र कांग्रेसकाे गठबन्धनले जनतामा सकारात्मक सन्देश गएकाे पनि दाबी गरेका छन् । ‘चाहे त्यो शान्ति प्रक्रियामा होस, चाहे त्यो संविधान निर्माणको बेलामा होस् । चाहे अरू अन्य बेलामा होस् । लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा होस् । यस्ता ऐतिहासिक क्षणहरूमा हामी एक ठाउँमा आएका छौँ । र, मुलुकलाई सही दिशा दिने प्रयत्न हामीले गरेका छौँ । फेरि एकपटक यी दुईवटा पार्टीले यसमा पहल लिएका छन् । मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ ।’ उनले भने ।





























प्रतिक्रिया