काठमाडाैं ।
पार्टीभित्र विवाद चुलिएका वेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा धमाधम प्रदेश र जिल्ला नेतृत्वको भेला सुरु गरेका छन् । बागमती प्रदेश र जिल्लाका निकट पदाधिकारीसँग बिहीबारको भेलामा उनीहरूले अन्तर्संघर्षको निर्णायक छिनोफानो स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकबाटै हुन लागेको सन्देश पनि दिएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आफूले निरन्तर अपमान, तिरस्कार र पीडा सहँदै आए पनि प्रधानमन्त्री केपी ओलीमा कहिल्यै इमानदारिता नदेखिएकाले पार्टीभित्र चलिरहेको व्यक्तिवादविरुद्धको अहिलेको अन्तर्संघर्षलाई आसन्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले नै टुंगोमा पुर्याउने प्रस्ट्याएको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘पार्टी राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्थ्याे, तर एकताका लागि मैले प्रधानमन्त्री केपी ओलीको धेरै पीडा, तिरस्कार अपमान सहँदै आउँदा पनि सहमति र पार्टी निर्णय कार्यान्वयनमा उनमा कहिल्यै इमान्दारिता देखिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले हामी यसपटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमार्फत पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर पार्टीको समस्या दीर्घकालीन ढंगले समाधान गर्ने गरी निष्कर्षमा पुर्याउँछौँ, त्यसमा तपाईंहरूको पनि साथ चाहिन्छ ।’
प्रचण्डले ओलीले छिटो महाधिवेशन गरेर पार्टीभित्रको अहिलेको अन्तर्संघर्षलाई समाधान गर्न सकिने भन्दै आए पनि उनी चुनावअघिसम्म महाधिवेशन गर्न नदिने योजनामा रहेको पनि प्रस्ट्याएका थिए । ‘उहाँ महाधिवेशनले नै सबै समस्याको समाधान गर्छ भन्ने प्रचार गर्ने, तर चुनावअघिसम्म महाधिवेशन हुनै नदिने खेलमा हुनुहुन्छ,’ प्रचण्डको भनाइ थियो ।
वरिष्ठ नेता नेपालले अहिलेको लडाइँ व्यक्ति प्रधान कि कमिटी प्रधान भन्ने भएकाले अब बस्ने बैठकले नै त्यस्तो वैचारिक लडाइँको निर्णायक छिनोफानो गर्ने प्रस्ट्याएका थिए । उनले बैठकलाई ‘कन्भिन्स’ गरेको अवस्थामा ओलीले कुनै पनि पदबाट राजीनामा नदिई कमजोरी सुधारको प्रतिबद्धतासहित अघि बढ्न सक्ने विकल्प खुलै रहेको बताएका थिए ।
‘हामीले विधि र पद्धतिका कुरा उठाउनेबित्तिकै केपीजीले राजीनामा मागियो भन्दै प्रोपोगान्डा गर्नुभो, उनी अहिले हटाउँछन् कि भरे हटाउँछन् भन्ने मनस्थितिमा छन्, तर हामी बैठकमा आउनुहोस्, आफ्ना कुरा राख्नुहोस्, कमिटीको मन जित्नुभो भने किन हट्नुपर्यो ? सुध्रिए पुगिहाल्छ । बैठकको मन जितेर सुध्रिने संकल्प गर्दा भइहाल्छ भन्ने पक्षमै हो,’ नेपालको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘तर, उहाँले बैठकमै आउँदिन भनेर कम्युनिस्ट पार्टीको स्थापित विधि र मान्यतालाई नै चुनौती दिँदै सर्वोपरी ठान्दै आउनुभएको छ । यो धेरै गम्भीर छ ।’
नेता नेपालले आफूले निरन्तर विधि र पद्धतिका पक्षमा अडान राख्दै आएको जानकारी दिँदै दुई अध्यक्षको चोचोमोचो मिलाउने कुरासँग जोडेर टालटुले समाधान खोजे पार्टीभित्रको अन्तर्विरोध समाधान नहुने प्रस्ट्याएका थिए । उनले ओलीका तर्फबाट पार्टी नेताहरूका बीचमा भएको दाउपेचको शृंखलासमेत जानकारी गराएका थिए । ओलीसँगको भेटमा किनारासम्म धकेलेर सहकार्य गर्न बाध्य तुल्याएकोसमेत जानकारी गराएको प्रचण्ड र नेपालले बताएका थिए ।
प्रचण्ड–नेपाल समूहले मदन भण्डारी फाउन्डेसनलाई भित्रभित्रै सक्रिय बनाएर पूर्वएमाले एकजुट हुनुपर्छ भन्दै ओली समूहले लुम्बिनी प्रदेशसहितका जिल्लाहरूमा समानान्तर कमिटी बनाउनेसम्मको काम अगाडि बढाउन थालेको सूचना आउन थालेपछि काउन्टरमा सातवटै प्रदेश र जिल्लामा समेत भेला गर्नुपर्ने बाध्यात्मक अवस्था आएको दाबी गरेको छ । प्रचण्ड–नेपाल समूहले यस्ता भेलालाई निरन्तरता दिने रणनीति बनाएका छन् । २८ मंसिरमा स्थायी कमिटी बैठक बस्दैछ ।नयाँ पत्रिकाबाट





























प्रतिक्रिया