काठमाडौं । सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमण वेदना पोखेका छन् । अमेरिकामा आफूले तीतो अनुभव गरेको बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पत्नी सिता दाहालको उपचारको क्रममा अमेरिका गएको बेला आफुलाई जेल हाल्ने षड्यन्त्रण सम्म भएको बताए । अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताए ।
आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दैं अध्यक्ष प्रचण्डले आफुविरुद्ध अमेरिकामा उजुरी हालिएको भन्दै जेल हाल्ने ठूलै षडयन्त्र असफल भएको दाबी गरे । प्रचण्डविरुद्ध अमेरिकामा तिलक श्रेष्ठले उजुरी हालेका थिए। ‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन जारी नगरेको त मलाई त्यहाँ जे पनि हुने रहेछ। केही मानिसले मलाई प्रचण्ड हत्यारा हो अपराधी हो भनेर त्यतै जेल हाल्ने योजना रहेछ,’ प्रचण्डले भने, ‘के मैले शान्ति सम्झौता गरेर अपराध गरें। संविधान निर्माणको नेतृत्व गरेर र देशलाई एकतावद्ध गरेर मैले के अपराध गरे ?’
अमेरिकास्थित नेपाली कांग्रेसको प्रवासी संगठनले निर्णय नै गरेर आफूविरूद्ध उजुरी हालेकाले त्यतातिर ध्यान दिन प्रमुख प्रतीपक्षी कांग्रेसको ध्यानाकर्षण गराए। ‘यस्ता मानिसहरू कसलाई प्रहार गर्दा अहिलेको परिवर्तन उल्ट्याउन सकिन्छ भन्नेमा लागेका हुन्छन्,’ प्रचण्डले भने, ‘शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई प्रहार गर्दा त्यो सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ हुन्छ। त्यो एउटा प्रवृत्ति हो। हामीले त्यस्तालाई रोक्नुपर्छ।’
यसअघि अमेरिकाबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अमेरिकामा नेपालीहरुले नै नेपाली नेताहरुलाई हेप्ने गरेको बताएका थिए ।





























प्रतिक्रिया