प्रधानमन्त्रीले ‘सर्पको खेल’ भनेपछि कांग्रेसको जवाफ: आमाका अगाडि मावलाको बयान !

प्रधानमन्त्रीले ‘सर्पको खेल’ भनेपछि कांग्रेसको जवाफ: आमाका अगाडि मावलाको बयान !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदीय गरिमा बिर्सेको आरोप लगाएको छ।  बिहिबार नेकपा प्रदेश  ३ को पहिलो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘कठैबरा कांग्रेस ! सर्पको खेलजस्तो ९९ मा  पुगेर स्वाट्टै २ मा झरेको’ भन्दै  व्यङ्ग्य गरेका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको यो टिप्पणीलाई  ‘आमाका अगाडि मावलाको बयान’ को संज्ञा दिएको छ। एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाद्ध बिताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिँड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न छैन’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, कांग्रेसले विप्लवप्रति आफ्नो धारणा स्पष्ट रहेको भन्दै कांग्रेसले हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरेको छ।

त्यसैगरी कांग्रेसले सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक रहेको बताएको छ ।

शुक्रबार नै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र विधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेस सकियो भन्ने भ्रमबाट मुक्त हुने चेतावनी दिएका छन् । शुक्रबार नेपाल प्रेस युनियन चिवनद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलन उनले प्रधानमन्त्रीलाई भ्रमबाट मुक्त हुन भनेका हुन ।

‘काँग्रेसका बारेमा त्यस्तो भ्रममा पर्नेलाई के भन्ने । जो काँग्रेस सकिएको भ्रममा पर्छ, ऊ त्यही भ्रमको शिकार हुन्छ । देशमा काँग्रेसबाहेक अरु कुनै दलको भविश्य छैन,’ निधिको भनाई थियो ।  दुईतिहाईको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भएको उपसभापति निधिको टिप्पणी छ ।

Logo