नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक कुनै हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् ।
जीपी फाउण्डेशन काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताएका हुन् । राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँदै कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने बताए ।
‘हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ,’ कोइरालाले भने, ‘तर अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हीत गर्दैन ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका निम्ति कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् । सोही कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।
नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिए । उनले नेताहरुलाई पार्टी भड्खालोमा जाने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे ।































प्रतिक्रिया