धनगढी उपमहानगरद्वारा नगर बस सेवा सञ्चालन, न्यूनतम भाडादर २० रुपैयाँ

धनगढी उपमहानगरद्वारा नगर बस सेवा सञ्चालन, न्यूनतम भाडादर २० रुपैयाँ

केन्द्रबिन्दु
18
Shares

कैलाली । धनगढी उपमहानगरपालिकाले नगर बस सेवाको उद्घाटन गरेको छ । फूलबारी बसपार्कमा एक कार्यक्रम आयोजना गरी नगर बस सेवाको उद्घाटन गरिएको हो । उपप्रमुख कन्दकला रानाले सिटी बजाएर र हरियो झन्डा देखाएर उक्त नगर बससेवाको उद्घाटन गरिन् ।

उपमहानगरपालिकाले खरिद गरेको नगर बस कैलारी गाउँपालिकाको हसुलियाबाट, फूलबारी, धनगढी हुँदै गोदावरीको अत्तरियासम्म चल्ने रुट तोकिएको उपमहानगरपालिकाले जनाएको छ । यही असोज १ गतेदेखि सुरु हुने नगर बससेवा बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ । छवटा बसबाट नगर बससेवा सुरु गरिएको छ ।

धनगढीको ‘के एन्ड के कन्स्ट्रक्सन’ले वार्षिक रु २८ लाख ८८ हजार नौ सय १९ मा नगर बससेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजस्व शाखा प्रमुख डिल्लीराज ओझाले जानकारी दिए । उनका अनुसार विसं २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बससेवाको न्यूनतम भाडादर रु २० तोकिएको छ । करिब सात किलोमिटर दूरीमा रु २० तिरेर नगर बसमा यात्रा गर्न पाइनेछ । बस बिहान ६ देखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।

हरेक दिन कैलारीको हसुलियाबाट बिहान छ बजे बस छुट्नेछ भने दुई बसको अन्तराल अधिकतम ३० मिनेटभन्दा बढी नहुने राजस्व शाखा प्रमुख ओझाको भनाइ छ । नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्ने बताउँदै तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने उनले बताए ।

दश वर्ष अर्थात् २०९१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एन्ड के कन्स्ट्रक्सनले पाएको हो । नगर बस सञ्चालनले सर्वसाधारणलाई लाभ भएको नगर प्रमुख गोपाल हमालले बताए । फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, गौशाला निर्माणजस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको उनले बताए ।

Logo