नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भयो । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ मा निधन भएको हो ।
को हुन् अधिकारी ?
अधिकारी तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाई हुन् । उनी कम्युनिष्ट भए पनि गान्धीबाट प्रभावित नेता हुन् । वि.सं १९९३ वैशाख २२ गते महोत्तरीको भमरपुरामा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रूपमा जन्मिएका उनी सन् १९५२ मा भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हुँदै अविभाजितकालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय थिए ।
अधिकारीको शिक्षा विराटनगरको आदर्श विद्यालयमा र उच्च शिक्षा भारतको बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा भएको थियो। कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । अधिकारी पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत हुन्। वि.सं. २०१७ सालमा पीएचडी गर्ने विचार गरेका अधिकारी तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’ विरुद्ध सघर्षमा होमिएका थिए ।
नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा परेका थिए । अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् ।
राजनीतिक यात्रा
उनी मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । वि.स. २०४८ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता अधिकारीले नेपाली काङ्ग्रेसका जगतमान आङदेम्बेलाई हराएका थिए । यसैगरी विसं २०५१ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन र २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता अधिकारी सोही निर्वाचन क्षेत्रबाट काङ्ग्रेसकै बसन्त भट्टराईलाई हराउँदै निर्वाचित भएका थिए । वि.सं २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने उनी तत्कालीन नेकपा (माओवादी) का लालबहादुर मगरसँग पराजित भएका थिए ।
नेता अधिकारी मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त योद्धा मानिन्छन् । मनमोहनको निधनपश्चात पार्टी केन्द्रीय कमिटीद्वारा गठित मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्षका रूपमा २०५६ सालयता उनले निरन्तर नेतृत्व प्रदान गर्दै आएका थिए । प्रतिष्ठानले मोरङको हात्तीमुढामा मनमोहन पोलिटेक्निक स्थापना र सञ्चालनको नेतृत्व गरिरहेको छ जुन नेपालकै उत्कृष्ट पोलिटेक्निकका रुपमा स्थापित छ । प्रतिष्ठानको व्यवस्थित सञ्चालन एवं पोलिटेक्निकको संस्थागत आधार निर्माण र नमूना ढङ्गले सञ्चालनमा उनले महत्वपूर्ण र गतिशील नेतृत्व गरेका थिए ।
पूर्व कोशी प्रान्तीय कमिटी, नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्द्रीय न्युक्लियस गठन र नेकपा (मनमोहन समूह) हुँदै उनी नेकपा (माक्र्सवादी)को उच्च नेतृत्वमा रही निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा क्रियाशील रहे । नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको छ ।
नेता अधिकारीले के–के गरे ?
नेता अधिकारीलाई विकासप्रेमी र अर्थनीतिका चिन्तक मानिन्छ । उनले तीनखम्वे अर्थतन्त्रलाई कार्यान्वयनमा ल्याएका थिए । नेता अधिकारीले विकास निर्माणमा ठूलो योगदान दिएका छन् । भरतमोहन अधिकारी सम्भवतः अहिलेसम्मकै सर्वाधिक लोकप्रिय अर्थमन्त्री हुन् । उनी दुईपटक उपप्रधानसहित चार पटक अर्थमन्त्री बनेका थिए । साथै उनी एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभागका रहेका काम गरेका थिए । अधिकारीले वि.सं २०६१ र २०६८ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए। उनले २०५६ सालमा पनि अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए।
अधिकारीले जेष्ठ नागरिक भत्ता कार्यक्रम ल्याएपछि उनको निकै वाहवाही भएको थियो । अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका बेला वृद्धवृद्धालाई सम्मान स्वरुप भत्ताको व्यवस्था गरेका थिए। अधिकारीले त्यसबेला ७५ वर्ष पुगेका वृद्धवृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था ल्याएका थिए । अधिकारीले पहिलो पटक अर्थमन्त्री बनेका बेलामा नै ‘आफ्नो गाउँ आफै बनाउ’ जस्ता जनता केन्द्रीत कार्यक्रम ल्याएका थिए। यसका साथै उनले ‘नौ स’ को अवधारण ल्याएर विकासको नीति अपनाएका थिए । जसमा स्थानीय सडक, स्वच्छ पिउने पानी, सुलभ स्वाथ्य, सीपमूलक तालिम र रोजगारी, शिक्षा र साक्षरता, सामुदायिक वृक्षारोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकासलगायतका कुराहरु समावेश थिए ।
उनले सुत्केरी भत्ताको समेत व्यवस्था गरेका थिए । उनले महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए । त्यस्तै ‘गाउँगाउँमा सहकारी घरघरमा रोजगारी’ भन्ने अभियान उनकै पालामा संचालन भएको हो । अधिकारीलाई सामाजिक सुरक्षा र विकास निर्माणको पहिलो खाका कोर्ने नेताका रुपमा लिईन्छ । त्यस्तै उनले नै देशमा भएका राजमार्गको नामाकरण राजनेताका नामबाट राखिनुपर्ने अवधारणाको विकास गरेका हुन् ।
उनको पालामा शुरु भएको अर्काे परियोजना हो कालीगण्डकी जलविद्युत परियोजना । त्यस्तै सहिद गंगालाल अस्पताल स्थापना र काठमाडौं विश्वविद्यालयलाई जग्गा दिने काम समेत उनले गरेका थिए । साथै उनले जग्गा हदबन्दीको कुरा पनि उठाएका थिए । परिणमतः जमिन जोत्नको हुनुपर्छ भनेर उनकै पालामा केशब बडाल आयोग नै गठन भएको थियो। उनकै पालामा मुक्त कमैया र सुकुम्बासीलाई जग्गा वितरणको कार्य भएको थियो। यही सिलसिलामा त्यसबेला ६० हजार सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिइएको थियो ।
त्यस्तै गरी उनले स्थानीयस्तरमा पनि थुप्रै योगदान दिएका छन् । रतुवामाईस्थित बक्राहा खोलामा पुल, उर्लाबारी–बरडङ्गा–विराटनगर सडकखण्डमा कालोपत्र, उर्लाबारी–मधुमल्ला–रवि सडक निर्माण, बक्राहा, मावा, लोहन्द्रा खोला नियन्त्रणलगायतका काममा उनको योगदान रहेको छ । विसं २०५१ मा अधिकारी पहिलोपटक अर्थमन्त्री हुँदा उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड निर्माणका लागि औपचारिक रूपमा सरकारी योजनामा पर्न सफल भएको थियो । हाल सो सडकखण्ड निर्माण सम्पन्न भई सवारीसाधन सञ्चालन भइरहेका छन् ।
नेता अधिकारीको कार्यकालमा देशमा विकास निर्माणको शुरुआत भएको तथा किसान, मजदुर, ज्येष्ठ नागरिकलाई महसुस हुनेगरी कार्यक्रम आएको थियो । विकास निर्माणमा उदार मनका नेता भएकाले सबैले उनको उच्च सम्मान गर्ने गरेका छन् ।





























प्रतिक्रिया