प्रकाश सिलवाल काठमाडौं । शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता थिए । उनी मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
विसं २०४८ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता अधिकारीले नेपाली काङ्ग्रेसका जगत्मान आङदेम्बेलाई हराएका थिए । यसैगरी विसं २०५१ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन र २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता अधिकारी सोही निर्वाचन क्षेत्रबाट काङ्ग्रेसकै बसन्त भट्टराईलाई हराउँदै निर्वा्चित भएका थिए ।
विसं २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने उनी तत्कालीन नेकपा (माओवादी) का लालबहादुर सुस्लिङ मगरसँग पराजित भएका थिए । नेता अधिकारीले यस क्षेत्रको विकास निर्माणमा ठूलो योगदान दिएका थिए । रतुवामाईस्थित बक्राहा खोलामा पुल, उर्लाबारी–बरडङ्गा–विराटनगर सडकखण्डमा कालोपत्र, उर्लाबारी–मधुमल्ला–रवि सडक निर्माण, बक्राहा, मावा, लोहन्द्रा खोला नियन्त्रणलगायतका काममा उनको योगदान रहेको छ ।
प्रत्येक पटक आफ्नो निर्वाचन क्षेत्रमा आउँदा क्षेत्रको विकास योजनामा चासो राख्ने र सबै राजनीतिक दलको भावनालाई सम्बोधन गर्ने उनको स्वभावलाई सम्झँदै यस क्षेत्रका मतदाता सामाजिक सञ्जालमा समवेदना व्यक्त गरिरहेका छन् । मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा स्व अधिकारी निःस्वार्थ विकासप्रेमी नेता भएको बताउँछन् ।
“पूर्वी मोरङको विकास, निर्माण र समृद्धिको काम गर्ने कुशल नेतृत्व गुमाएका छौँ”, उनले भने, “लोकतन्त्र र समृद्धिका लागि अहोरात्र खट्ने, कुशल सङ्गठनकर्ता, विकासप्रेमी नेता अधिकारीलाई यस क्षेत्रका स्थानीयवासीले कहिल्यै भुल्ने छैनन् ।”
पहिले उर्लाबारी मावाखोला पसेर बगरमै परिणत भएको थियो, समाजसेवी एवं नेकपाका स्थानीय नेता मानबहादुर श्रेष्ठ भन्छन्,“उनको सक्रियतामा सो खोलामा तटबन्ध निर्माण भएपछि उर्लाबारी अहिलेको अवस्थामा आएको हो ।” तत्कालीन मोरङको निर्वाचन क्षेत्र नं २ का गाउँमा सडक थिएन, बिजुली थिएन श्रेष्ठले भने ।
विसं २०५१ मा अधिकारी पहिलोपटक अर्थमन्त्री हुँदा उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड निर्माणका लागि औपचारिक रूपमा सरकारी योजनामा पर्न सफल भएको थियो ।
हाल सो सडकखण्ड निर्माण सम्पन्न भई सवारीसाधन सञ्चालन भइरहेका छन् । अधिकारी काठमाडौँमा रहँदा यस क्षेत्रका नेता, कार्यकर्ता एवं शुभेच्छुक उनलाई भेट्न जाँदा जहिल्यै पनि उनले उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड र बक्राहा, मावाखोलाका विषयमा जिज्ञाशा राख्ने गरेको नेकपाका नेतृ विद्या चाम्लिङ बताउँछिन् । उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोवद्र्धन शाक्य अधिकारीलाई कार्यकर्ताको निकै चिन्ता गर्ने नेताका रुपमा सम्झन्छन् ।
निर्वाचनको बेलामा होस् या अन्य पार्टीको कार्यक्रममा उनले कार्यकर्ताको अवस्थाका विषयमा सधैँ चिन्ता गर्थे, शाक्यले भने । नेता अधिकारीको कार्यकालमा देशमा विकास निर्माणको शुरुआत भएको तथा किसान, मजदुर, ज्येष्ठ नागरिकलाई महसुस हुनेगरी कार्यक्रम आएको थियो । पूर्वी मोरङको विकास निर्माणमा उदार मनका नेता भएकाले सबैले उनको उच्च सम्मान गर्ने गरेका छन् ।
कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्रान्त योद्धा मानिन्छन् । विसं १९९३ वैशाख २२ गते महोत्तरीको भमरपुरामा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारी देवीका कान्छा सुपुत्रका रूपमा जन्मिएका उनी सन् १९५२ मा भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध हँुदै अविभाजितकालदेखि नै नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय थिए ।
विसं. २०५१ मा नेकपा (एमाले)का तत्कालीन अध्यक्ष तथा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, ‘नौ स’ अभियानजस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरिएको थियो ।
मनमोहनको निधनपश्चात पार्टी केन्द्रीय कमिटीद्वारा गठित मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्षका रूपमा २०५६ सालयता उनले निरन्तर नेतृत्व प्रदान गर्दै आएका थिए । प्रतिष्ठानले मोरङको हात्तीमुढामा मनमोहन पोलिटेक्निक स्थापना र सञ्चालनको नेतृत्व गरिरहेको छ, जो नेपालकै उत्कृष्ट पोलिटेक्निकका रुपमा स्थापित छ । प्रतिष्ठानको व्यवस्थित सञ्चालन एवं पोलिटेक्निकको संस्थागत आधार निर्माण र नमूना ढङ्गले सञ्चालनमा उनले महत्वपूर्ण र गतिशील नेतृत्व गरेको मनमोहन स्मृति प्रतिष्ठानका सचिव तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पूर्व कोशी प्रान्तीय कमिटी, नेकपाको तेस्रो राष्ट्रिय महाधिवेशन, केन्द्रीय न्युक्लियस गठन र नेकपा (मनमोहन समूह) हुँदै उनी नेकपा (माक्र्सवादी)को उच्च नेतृत्वमा रही निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा क्रियाशील रहे । उनी विराटनगरमा स्थापित कानून व्यवसायीका रूपमा समेत सक्रिय थिए । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी बौद्धिक राजनीतिज्ञ थिए ।
नेपालको संविधान २०४७ को मस्यौदा गर्न र नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकता सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको थियो । “खासमा बजेटप्रति सर्वसाधारण जनताको चासो र सरोकार सिर्जना गर्ने काम त्यसै बेलादेखि आरम्भ भएको थियो ।
दुई पटक उपप्रधानमन्त्रीसमेत भएका उनले चार पटक अर्थ मन्त्रालयसहित अन्य विभिन्न मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए । ” उपप्रधानमन्त्री पोखरेलले भनेका छन्, “निरन्तर सक्रिय, विनम्र र मिलनसार व्यक्तित्वका रूपमा परिचित उनले आफ्नो करीब सात दशक लामो राजनीतिक जीवन कम्युनिष्ट आन्दोलनको विकास, विस्तार र अग्रगतिमा व्यतित गरे । रासस





























प्रतिक्रिया