वाईडबडी विमान प्रकरणमा रविन्द्र निर्दोष थिएः प्रधानमन्त्री ओली

वाईडबडी विमान प्रकरणमा रविन्द्र निर्दोष थिएः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको वाईडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मान दर्मन गर्न खोजेको भन्दै आपत्ति जनाए ।

शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा उनले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई आँखामा राखेपनि नबिझाउने नेताको रुपमा स्मरण गरे ।

नेकपा संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले मन्त्री अधिकारीसहित सो दुर्घटनामा परी निधन भएका सातै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले सो हेलिकप्टर दुर्घटनामा परी निधन भएकाका परिवारको अवस्था र आवश्यक्तालाई ध्यानमा राखेर उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई अनुरोध गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

Logo