लुम्बिनी प्रदेश : संरचना बनेपछि राजधानी सार्न सांसदहरुको सुझाव

लुम्बिनी प्रदेश : संरचना बनेपछि राजधानी सार्न सांसदहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजान प्रदेश सरकारलाई सुझाव दिइएको छ । रिपोर्टर्स क्लब, लुम्बिनी प्रदेश बुटवलद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा सत्ता र प्रतिपक्षका प्रदेशसभा सदस्यले लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको बताएका थिए। उनीहरुले बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवाङको अस्थायी संरचनामै कार्यालयहरु लैजाँदा राज्यलाई करोडौँको आर्थिक भार पर्ने भएकाले उपयुक्त स्थायी संरचना निर्माणपछि मात्रै सरकारका संरचनाहरु लैजाँदा उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामकरणपछि सरकारको दायित्व पूरा नभएको उल्लेख गर्दै नयाँ ठाउँमा राजधानी स्थापना गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए। उनले नेकपा विवाद कुनै सैद्धान्तिक र वैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रित भएको टिप्पणी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशमा सत्ता पक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी स्थापना र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालीन संरचना निर्माण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको उल्लेख गर्दै बुटवलबाट राजधानी सरे पनि आर्थिक केन्द्र बुटवलमा नै रहने दाबी गरे ।रासस

Logo