काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउने क्रममा नेपाल प्रहरीले सहयोग नगरेको भन्दै आक्रोश पोखेका छन् ।
प्रहरीले महानगरलाई हस्तक्षेप गरेर मारवाडी सेवा समितिको संरक्षण गर्न खोजेको उनको आरोप छ ।
बुधबार धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच घम्साघम्सीको स्थिति बनेको थियो । झडपबीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि असन्तुष्ट बनेका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महानगरलाइ धर्मशाला तथा असक्तहरुलाइ निसुल्क खाना र औसधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाइ संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितीको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै सेवा समितीले पो रहेछ ।’
घम्साघम्सीपछि महानगरले धर्मशालामा मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ । महानगरका प्रहरीले ‘काठमाडौं महानगरद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको आफ्नो बोर्ड राखेका हुन् ।
२०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी अर्थात् हालको पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौता काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएपछि काठमाडौंको गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा र सोही स्थानको कित्ता नम्बर ८५ को ४ रोपनी १० आना जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको थियो ।
कोष सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । तर समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत पुनर्बहाली गरिपाउँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएपछि कोष र समितिबीच भएको नौ बुँदे सम्झौता रद्ध गर्ने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद निर्णय अदालतबाट पनि सदर भएको थियो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को हालै बसेको बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न कोषलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यसपछि मंगलबार धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाउने गरी महानगर र कोषबीच ७ बुँदे सहमति भएको थियो । तर, बुधबार धर्मशाला खाली गराउन पुग्दा समितिका पदाधिकारीहरूले विरोध गरेका थिए । प्रहरीले पनि महानगरलाई हस्तक्षेप गरेर उनीहरूलाई नै साथ दिएपछि मेयर बालेन आक्रोशित बनेका हुन् ।































प्रतिक्रिया