काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् ।
मन्त्री पाण्डेले पहिलो एक सय दिनको अवधिमा नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार भएको तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जस्ता दूरगामी महत्त्वका कामहरू भएको बताएका छन् ।
उनले नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यसपछि गठित आयोगका अध्ययन प्रतिवेदनले औँल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि बताए ।
मन्त्री पाण्डेले नेपाल एयरलाइन्समा देखिएका समस्याहरूको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको बताएका छन् । उनले भने, ‘नेपाल नाागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित भरपर्दो एवं विश्वसनीय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौँ ।’
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए ।
ती विधेयकहरू संसद्को आगामी अधिवेशनमा पेश भई पारित गर्न पहल हुने पनि उनले बताएका छन् । यसै गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कार्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धी भएको उनको भनाइ छ ।
यसैबीच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपद्का बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको बताए ।
सो अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताए । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेशिया बीचद्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।
मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ । मन्त्री पाण्डेले भने, “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मादमा पेश गरिएको छ । क्यासिनो नियमावली, स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । पर्वतारोहण सम्बन्धी नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ ।”
त्यस्तै नेपालका पाँच हजार ८ सयदेखि छ हजार ५ सयसम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । यस्तै प्रतिलिपि अधिकार विधेयक मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए ।
मन्त्रालयले यस अवधिमा ललितपुरको गुइत टोलको चैत्यबाट हराएर अमेरिका पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रक्रिया अघि बढाइएको तथा शंकर कीर्ति महाविहार, भगवान् वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ती सोही स्थानमा पुनस्थापना गरिएको उनले बताए ।































प्रतिक्रिया