काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ ।
बिहीबार पार्टी केन्द्रीय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरूलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन् ।
उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशको कानूनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको थियो । अहिलेको सरकार त पछिल्लो समय विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा लगाउने र आफ्नै नेताहरू जोगाउने काम गरिहरेको छ । म ति नामहरू भन्न पनि तयार छु । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतहरूलाई संरक्षण गरेर खुला रूपमा राखेको छ ।’
त्यस्तै उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठीक विपरीत दिशामा गइरहेको उल्लेख गरे ।
‘हामी पुरै दृढताका साथ के भन्न सक्छौँ भने माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि दृढताका साथ लागि परेको थियो । अहिले पनि देशव्यापी रुपमा हाम्रा कार्यकर्ताहरू चाहिँ जनताको खोज, उद्धार, राहत तथा पुर्नस्थापनामा समेत खटिरहनुभएको छ । पहिलेका सरकारले गरेका कामहरुको बारेमा धेरै लामो फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । यति भन्दा पनि पुग्छ जस्तो लाग्छ ,’उनको भनाइ थियो ।































प्रतिक्रिया