काठमाडौँ । बागमती प्रदेश, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले अब आउने नयाँ नीतिमा सामुदायिक वनभित्रका बाँझो जग्गाहरूमा नर्सरी व्यवसाय गर्ने कुरालाई सम्बोधन गर्ने बताएका छन् ।
शुक्रबार नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित तिहार फ्लोरा एक्सपो–२०८१ को उद्घाटन गर्दै उनले सामुदायिक वनभित्रका बाँझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने र बजेटको कुरा अर्को पटकको प्रदर्शनीमा उठाउनुपर्ने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘सामुदायिक वनभित्रका बाँझो जग्गाहरु नर्सरी व्यवसाय गर्नको लागि जुन कुरा उठाउनु भएको छ अब आउने नयाँ नीतिमा त्यो कुरा अलिअलि सम्बोधन भएको छ । अर्को वर्ष आउने नीतिमा सबैलाई चित्त बुझ्ने गरि सम्बोधन गर्ने छु । यसमा ढुक्क भए हुन्छ । यसको साथै बजेटको कुरामा पनि अर्को पटकको प्रदर्शनीमा बजेटको कुरा उठाउनु पर्ने अवस्था नआउने पनि विश्वास दिलाउन चाहन्छु ।’
यस्तै, उनले व्यवसायमा लागि सकेपछि रोजीरोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नुपर्ने भन्दै त्यसमा तीनवटै सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘यो व्यवसायमा लागिसकेपछि कमसेकम रोजीरोटी र रोजगारी सिर्जना गर्न सक्ने वातावरण बन्नुपर्छ । त्यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनवटै सरकारले सहयोग गर्न आवश्यक छ । हामी त्यो गर्न तयार छौँ । यो कुरामा म सबैलाई विश्वस्त गर्न चाहन्छु ।’
पुष्प, जडिबुटी, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सक्षम हुनु पर्ने भन्दै यसतर्फ सोच्न सबैलाई आग्रह गरेका छन् ।
उनले भने, ‘पुष्प, जडिबुटी, फलफूल व्यवसायी सबैले समृद्धिको यात्रामा यो देशलाई अगाडि बढाउन सक्षम हुनुपर्छ । हामीले गरेका कामले रोजगारी सिर्जना हुनुपर्छ । युवाहरूलाई बाहिर पठाउने होइन, हाम्रो उत्पादनहरूलाई पठाउन सक्षम हुनुपर्छ जसको कारण हामी आर्थिक रूपले पनि सम्पन्न हुन्छौँ र नेपाललाई पहिचान दिन पनि सक्छौँ । यसतर्फ सोच्न सबैलाई आग्रह गर्न चाहन्छु ।’































प्रतिक्रिया