काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।
आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।
उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरूमा दुईतीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यता पनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरी सुधार गर्नुपर्छ तपाईँहरूले ध्यान दिनुहोला । यो नियमकानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ । अनि आफूले रिटायर्ड लाइफपछि पनि आफू अनुकुल हुनेगरी कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो ।’
साथै उनले सरकारले अँगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरूलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे । उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौँ । सरकारले अँगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरूलाई फुकाउने गरी कानून बनाउने हो नि । हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदै छौँ ।’





























प्रतिक्रिया