राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा राजतन्त्र फर्किन सक्ने घोषणा गरेका छन् ।
सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गर्दै उनले भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो। दुवै असफल भए। उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन्।’
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाए। साक्षात्कारमा बोल्दै उनले यस्तै भए नेपालमा राजतन्त्र पनि फर्किन सक्ने दाबी गरे। उनले भने,‘राजतन्त्र फर्किन सक्छ ।’
राणाले ओली सरकारलाई दुई तिहाइ ल्याएको भन्दै मान्नैपर्ने तर्क गरे।उनले भने,‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाइको बहुमत ल्याउन सफल भएको छ। ओलीजीको लागि यो मौका हो।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ। उनले बूढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई दिनुमा भ्रष्ट्राचार भएको बताए।
त्यस्तै उनले वाइड बडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए। कूटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए ।





























प्रतिक्रिया