दमक (झापा) । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अङ्ग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताएका छन् ।
आज झापाको दमकमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को कोसी प्रदेश सम्मेलन तथा विचार गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक विद्यालयले मातृभाषाका साथै विद्यार्थीलाई न्यूनतम रूपमा अङ्ग्रेजी भाषामा बोलीचाली गर्नसक्ने गरी क्षमता वृद्धि गराउनुपर्नेमा जोड दिएका हुन् ।
अङ्ग्रेजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएकाले पनि यो सिक्नु जरूरी रहेको उनले उल्लेख गरे ।
आफ्नो विद्यालय तहको पढाइ स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भने, “हामी विद्यालय पढ्ने बेला कक्षा पाँचमा मात्रै अङ्ग्रेजी अक्षर चिनेको थिएँ । अहिले समय बदलिएको छ । अङ्ग्रजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै विश्वको जुनसुकै ठाउँमा पुगे पनि सञ्चार गर्न सकिन्छ । नेपाली शिक्षा, रोजगारीलगायत कारणले विभिन्न मुलुक जाने गरेका छौँ, तसर्थ अङ्ग्रेजी सिक्नु आवश्यक जस्तै बनेको छ ।”
उनले भाषिक ज्ञान र सीपलाई व्यवहारमा सही तरिकाले कार्यान्वयन गर्न सके मात्र परिवेश र अवस्था सुहाउँदो शिक्षा प्राप्त सकिने धारणा राखे । यस किसिमका विचार गोष्ठी तथा सम्मेलनमा हुने अन्तरक्रिया र बहसले आगामी दिनमा अङ्ग्रेजी भाषाको शिक्षण सिकाइमा थप मद्दत पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया