अहिलेको काङ्ग्रेस जमेको पोखरी जस्तो, म सभापति लड्न तयार छु- गगन थापा

अहिलेको काङ्ग्रेस जमेको पोखरी जस्तो, म सभापति लड्न तयार छु- गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन्  ।

नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उनले भने, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।”

नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताए । “अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उनले भने, “तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।”

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उनीहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गरे । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, उनले भने, “अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ ।”

नेता थापाले अहिलेको काङ्ग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क छ । “शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नुहुन्छ”, उनले भने, “यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।”

Logo