काठमाडाैं । गत वर्ष मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्र पक्षधर समूह र नेकपा एमालेका नेता महेश बस्नेत नेतृत्वको अर्को समूहको प्रदर्शनले काठमाडौंमा मच्चाएको अराजक गतिविधि सर्वविदितै छ । झडप हुने डरले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै दुर्गा प्रसाईंलाई बल्खु र एमालेलाई तिनुकुने प्रदर्शन क्षेत्र तोकिदिएको थियो । तैपनि छिटफुट रुपमा झडप भने भएरै छाड्यो । दिनभर नै दुई समूहले भएभरको शक्ति प्रदर्शन गर्न खोज्दा प्रहरी प्रशासनलाई हम्मेहम्मे परेको थियो । तर, फेरि एकवर्ष पछि मंसिर ७ गते नै दुवै पक्ष आन्दोलनको तयारीमा जुटेका छन् ।
अघिल्लो वर्षको आन्दोलनमा राजतन्त्रको वकालत गरेका दुर्गा प्रसाईंले यो पटक भ्रष्ट नेतालाई लखेट्ने एजेण्डा बोकेको छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र राजतन्त्र पक्षधर दल राप्रपाले नै नपत्याएपछि उनको यो एजेण्डा मोडिएको हो । दुर्गा प्रसाईंले कैयौं आमसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै उतार्ने जमर्को गरे । तर, सकेनन् । त्यसपछि नेताहरुबाट निराश जनतालाई उनीहरुको अनुकूल आश्वासन र उत्तेजक रुपमा भाषण दिन सिपालु दुर्गा प्रसाईं नेताहरुकै विरुद्धमा उत्रिन खोजेका हुन् ।
शुक्रबार भएको एक पत्रकार सम्मेलनमा उनले मंसिर तीन गते नेताहरूको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने घोषणा गरिसकेका छन् । सो दिन कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनीमा कति लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने उनको भनाई छ । त्यसपछि ७ गते आन्दोलनमा उत्रिने उनको एजेण्डा छ । उनको यहीबाट प्रष्ट हुन्छ की जनता उचाल्ने अनि आन्दोलनमा उत्रिने ।
नेपालको पैसा नेपालमै रहनुपर्छः दुर्गा प्रसाईं
दुर्गा प्रसाईंले अन्य दलको तुलनामा एमालेसँग त दुष्मनी नै मोलेका छन् । उनी जहाँ जान्छन् एमाले र हालका प्रधानमन्त्री केपी शर्मा ओलीको त खेदो खनेकै हुन्छन् । केही समयअघि उनी प्रहरी हिरासतसम्म पनि पुगे । उनीविरुद्ध साइबर क्राइमको मुद्धा त परेको थियो । तर, ओली सरकारले आँखा चिम्लिँदा आफू घरबाटै समातिनुपरेको उनीमाथि आक्रोश थियो । उनले पक्राउ पर्नेवित्तिकै आफ्नो शरीरमा एक थोपा रगत हुञ्जेल ओलीविरुद्ध लड्ने बताएका थिए । दुर्गा प्रसाईंको यो आन्दोलन घोषणालाई त्यस प्रकरणमा पनि जोडेर हेर्न सकिन्छ ।
तर, यता सत्ताको नेतृत्व गरेको एमाले नै जनप्रदर्शनको तयारीमा किन उत्रँदैछ त्यसमा भने जनता अन्योलमा छन् । दुर्गा प्रसाईंलगायत विपक्षीलाई काउन्टर दिन हो वा या अरु नै के छ त कारण ? सरसर्ती हेर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले सडकमा आन्दोलन अघि बढाएपछि एमालेले पनि प्रतिवाद गर्नको लागि शक्ति देखाउन लागेको प्रष्ट देखिन्छ ।
यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध देशभरी खबरदारी सभाको तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै निरन्तर सडकमै उत्रिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अब काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ । त्यसैबीच विपक्षी दललगायत समूहले दबाब बढाएपछि एमालेले उपत्यकाका तीन वटा जिल्ला कमिटी, चारवटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट एक लाख काठमाडौंमा उतार्न लागेको हो ।
बागमती प्रदेश इन्चार्ज तथा जनप्रदर्शन समितिका संयोजक डा। राजन भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् । त्यसको विरुद्धमा एमाले सडकमा उत्रिन लागेको हो । साथै आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि यो प्रदर्शन उपलब्धीमूलक बन्नसक्ने एमालेको अनुमान छ ।
हुन त मैदानमा पक्ष प्रतिपक्ष बनेर भिडे पनि दुवै पक्षको निशाना जनतालाई आश्वासनमा भूलाउनु नै हो भन्दा फरक पर्दैन । दुर्गा प्रसाईं जनता उचालेर सरकार होस् वा व्यवस्था नै बदलेर आफू अनुकूलको निर्णय गराउन चाहन्छन् भने एमाले कार्यकर्ता उतारेर सरकारको नेतृत्व हल्लिन नदिने पक्षमा छ । अहिले उसको प्रमुख एजेन्डा जसरी हुन्छ सत्तारोहण लम्ब्याउनुरहेको छ । त्यसमा कुन पक्षलाई जनताले कति पत्याउँछन् त्यो त हेर्न बाँकी नै छ ।































प्रतिक्रिया