माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन्ः अध्यक्ष प्रचण्ड

माओवादी नेतृत्वमा ऐतिहासिक कामहरू भएका छन्ः अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
21
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) गोरखाले सदरमुकाममा आज आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताएका हुन् ।

उनले भने, “एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्‍यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।” उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए ।

अध्यक्ष दाहालले माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पुर्‍याउन हिचकिचाउन नहुने भन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गरे । “पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्‍यौँ”, उनले भने, “त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले गर्‍यौँ ।”

तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेकर्ड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको अध्यक्ष दाहालले स्पष्ट पारे । उनले भने, “सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्‍यो ।”

Logo