सभ्य र हिंसारहित समाज निर्माण होस्ः प्रधानमन्त्री ओली

सभ्य र हिंसारहित समाज निर्माण होस्ः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको उक्त अभियानमा सो शुभकामना व्यक्त गरेका हुन् ।

“म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले प्रयासहरूलाई समृद्धिको बाटोमा, समानताको बाटोमा, सभ्यताको बाटोमा, न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरू गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सक्छौँ भनी सन्देशमा लेखेका छन् ।

“आजका निम्ति लैङ्गिक हिंसाले आँसु बगाउनुपर्ने स्थिति रहनु हाम्रो चेतना, हाम्रो सभ्यता, हाम्रो व्यवहारप्रति एउटा ठूलो प्रश्न चिह्न हो, लैङ्गिक विभेद र हिंसा हाम्रा निम्ति कलङ्क हुन्”, सन्देशमा भनिएको छ, “हामीले चाहेको समाज एउटा न्यायपूर्ण समाज होस्, सभ्य समाज होस्, उन्नत समाज होस्, सुसंस्कृत समाज होस् । हाम्रा शास्त्राहरूमा पनि उल्लेख छ ।

“यो हामी सबैको साझा अभियान हो, यो साझा अभियानलाई हामी सबैको संयुक्त प्रयासहरुबाट, हाम्रा एकताबद्ध प्रयासहरुबाट अगाडि बढाउन जरुरी छ”सन्देशमा भनिएको छ, “एउटा मानिसलाई यन्त्र ठान्ने दासयुग, महिलालाई वस्तु ठान्ने सामन्ति युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यावहारिक हिसाबले आधुनिक, समतामूलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौँ र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।”

प्रधानमन्त्री समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पहिल्याएको र देशमा सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्न चाहेको कुरा सन्देशमा लेखेका छन् ।

“न्यायोचित समाज, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्ने बाटोमा अगाडि बढिरहेका छौँ, यिनै कुराहरुलाई प्रतिविम्बित गरेर हामीले हाम्रा नीति कार्यक्रम तद्अनुसारका ल्याएका छौँ”, सन्देशमा भनिएको छ, “सरकारका नीति कार्यक्रममा यी कुराहरु प्रतिविम्बित भएका छन् । यिनलाई कार्यान्वयन गर्नका लागि योजनाबद्ध कार्ययोजना तयार गरेका छौँ ।”

सन्देशमा विभेद र अपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएको उल्लेख छ ।

Logo