सामाजिक सञ्जालको दुरूपयोग देशको विकासको बाधक बन्योः मन्त्री गुरुङ

सामाजिक सञ्जालको दुरूपयोग देशको विकासको बाधक बन्योः मन्त्री गुरुङ

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सामाजिक सञ्जालको दुरूपयोग देशको विकासको बाधकको रूपमा देखा परेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए ।

उनले भने,‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ । सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ । यो चिज हाम्रो विकासको लागि बाधक छ । हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ । यसबाट पनि चुनौतिहरु बढेको छ । अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’

उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको बताए । उनले भने,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक छ । तथापी नेपालको प्रचलित ऐनको कार्यविधि विपरीत गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ ।’

मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गरे । सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने,‘हाम्रो देशमा,समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ । हामी भन्छौँ नि दही जस्तै जमेको विविधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर । सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दही जस्तो देशमा कागती निचोर्ने काम भएको छ । त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ ।’

Logo