रास्वपा राजनीतिक रूपमा पतनको बाटोमा छः पूर्ण बस्नेत

रास्वपा राजनीतिक रूपमा पतनको बाटोमा छः पूर्ण बस्नेत

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रूपमा पतनको बाटोमा रहेको बताएका छन् ।

सहकारी संस्थाको रकम दुरूपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरूको गतिविधिप्रति लक्षित गर्दै उनले उक्त टिप्पणी गरेका हुन् ।

बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको भन्दै अहिलेसम्म पाँचवटा जिल्ला अदालतले रविलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्था छ । पार्टीका सांसद र नेतालाई अदालतको मानहानीको मुद्दा लागेको छ । यस्तो अवस्थामा आत्मसमीक्षा, आत्मालोचना र स्विकारोक्तिबाट अगाडि बढ्नुको सट्टा रवि छोडो आन्दोलनको नाममा यिनीहरूको रमिता छ ।’

‘कार्यकर्ताहरूको उक्साहट र हौसला यस्तो छ कि मानौँ रास्वपाले देशमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गर्दै छ ।’ उनले कटाक्ष गरेका छन् ‘रास्वपाको राजनीतिक स्खलनको सुरुवात यहीँबाट हुन लागेको देखिन्छ, स्खलनको गति तीव्र छ ।’

करिब ७४ लाख सहकारी बचतकर्ताको लगभग २ खर्ब रकम हिनामिना भएको भन्दै एउटा राजनीतिक दलको रूपमा पीडितहरूको पक्षमा बहस, पैरवी गर्नुपर्नेमा पीडककै पक्षपोषण र संरक्षणमा उत्रिने रास्वपाको हर्कत राजनीतिक हुनै नसक्ने उनको ठम्याइ छ ।

सहकारी बचतकर्ताहरूको उठीबास लगाउने पीडकको जात, धर्म वा पार्टी नहुने भन्दै यस विषयमा निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई शीघ्र न्याय दिनुपर्ने उनको माग रहेको छ ।

‘काङ्ग्रेस कम्युनिष्टको विकल्प मुलुकलाई चाहिएको छ । तर काङ्ग्रेस कम्युनिष्टभन्दा हामी कम खराब हौँ भनी घोषणा र दाबी गर्नेहरूबाट होइन । प्रमुख बस्नेतले भने, ‘अबको राजनीतिको नेतृत्व समाजवादी विचार र दृष्टिकोणले गर्छ ।’

Logo