ओली र प्रचण्डको संवाद ठप्प, नेकपा विवाद मिलाउन युवा नेतादेखि राष्ट्रपतिसम्मको सक्रियता

ओली र प्रचण्डको संवाद ठप्प, नेकपा विवाद मिलाउन युवा नेतादेखि राष्ट्रपतिसम्मको सक्रियता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कात्तिक २५ यता संवाद ठप्प छ।

कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा अध्यक्षबीच ‘छेडछाड’ र व्यङ्ग्य वाण मात्र चल्यो । प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ । उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप पत्र’को संज्ञा दिएका छन्।

प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन् । ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ।

ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन् । प्रचण्डले भने ओलीको एकल निर्णयले पार्टी र सरकार नचल्ने भन्दै आफ्नो अडानबाट टसमस नहुने प्रष्ट पारेका छन्।

पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयको संवाद ठप्प भए पनि दुवै अध्यक्षका दूतहरुको दौडधुप व्यापक देखिन्छ। बिहीबार पार्टी विवाद समाधानको विषयमा छलफलका लागि प्रचण्ड निवास खुमलटारमा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पुगे । त्यसकै निरन्तरता स्वरुप शुक्रबार बिहानै उपप्रधानमन्त्री ईश्वर पोखरेल खुमलटार पुगे।

खुमलटार पुगेका ओली निकट नेताले दुवै प्रस्तावको अध्ययन गरेर साझा प्रस्ताव बैठकमा पेश गर्नुपर्ने कुरामा जोड दिएका छन्। यो विषयमा प्रचण्डसँग छलफल भएको खुमलटार पुगेका एक नेताले बताए। यो छलफलमा प्रचण्ड भने सकारात्मक छैनन् ।

संवादको शृङ्खला

नेताहरू २० मंसिरसम्म सचिवालय बैठक रोकेर आआफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका हुन् । मंसिर १६ गतेपछि अध्यक्ष ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत, अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानु पर्ने बताइरहेका छन्।

दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा ठोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए। तर, यसपटक उनीहरूको प्रयास सफल हुन सकिरहेको छैन। उनीहरूका दबाब अध्यक्षद्वयले स्वीकारिरहेका छैनन्।

राष्ट्रपतिको सक्रियता

नेकपामा विवाद बढ्दै जाँदा शीतल निवासको समेत सक्रियता देखिन थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद समाधानका लागि दुई अध्यक्षलाई बिहीबार शीतल निवासमै बोलाएर छलफल गरेकी छिन् ।

भण्डारीसँग बिहीबार दिउँसो ओली र साँझ दाहालले गरेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ। राष्ट्रपतिले सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र मंगलबार कृषिमन्त्री घनश्याम भुसालसँग भेट गरेकी थिइन् । यसअघि राष्ट्रपतिले कात्तिक १८ मा उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेकी थिइन्।

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता नियमित भएको तर दाहालसँगको भेटवार्ता अध्यक्ष दाहालले चाहेर भएको शीतल निवास स्रोतले बताएको छ। बिहीबार राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेट गरेका थिए।अन्नपूर्णबाट

Logo