केन्द्रबिन्दु बुलेटिन : एक लाख नागरिकले लगाए कोरोनाविरुद्धको खोप (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : एक लाख नागरिकले लगाए कोरोनाविरुद्धको खोप (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका छन् । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई विदेश सचिवको नेपाल भ्रमणका क्रममा औपचारिक रुपमानै एजेन्डा बनाएर राखिएकाले अब, दुई देश बीचमा सीमा लगायतका विषयमा स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको मन्त्री ज्ञवालीको भनाई छ ।

कोरोना विरुद्धको अभियानमा रुस सबैभन्दा अघि देखिएको छ । कारण, हालसम्ममा एक लाखभन्दा बढी नागरिकलाई रुसले आफै विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक–भी खोप लगाइसकेको जानकारी गराएको छ । अर्को देश क्यानडाले पनि जनवरी महिनाबाट आफ्ना नागरिकहरूलाई खोप दिने तयारी सुरु गरेको जानकारी गराएको छ ।

सरकारले १८ आवश्यक सेवाबाट अब २५ सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै राजपत्रमा आवश्यक सेवामा हड्ताल निषेध गरेको उल्लेख गर्दै यो सूचना सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको समीक्षामा वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले केहि नीतिगत परिवर्तनहरू समेत गरेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का बहुमत सदस्यले आयोगको प्रतिवदेन सार्वजनिक गरेका छन् । २०७५ माघ १ गते प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनलाई सरकारले गुपचुप राखेपछि आयोगका पूर्वपदाधिकारीले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

Logo