काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाएका हुन् ।
उनले भने,‘यसमा सच्चाइको एउटा सानो अंश पनि छैन । त्यस्तो धन्दामा रमाउने साथीहरूलाई मेरो आग्रह छ–मनको लड्डु घिउसँग खानुहोस् । योभन्दा थप भन्नुपर्ने केही छैन । यस्तो खालको अविश्वसनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन ।’
उनले आफूहरू सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै त्यसैलाई पन्छाउने कोशिशमा सरकार रहेको बताए । अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशील बनाउने दिशामा सरकार रहेको उनको भनाइ छ ।
उनले भने,‘हामी सरकारमा आउँदै गर्दा विरासतमा केही बोझहरू थिए । समस्याको चाङ थियो । त्यसलाई पन्छ्याउँदै जाने काम गरिराखेको छौँ । क्रमशः विद्यमान चुनौतीहरूलाई, समस्याहरूलाई विस्तारै– विस्तारै पन्छ्याउने कोशिश गरिरहेका छौँ । हिजो बैंकको ब्याजदर बढी भयो भन्ने गुनासो थियो, सिंगल डिजिटमा झार्न सफल भएका छौँ । तरलता सहजताको अवस्थामा छ । हामी उत्पादकत्व वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा काम गरिरहेको छौँ । अर्थतन्त्रलाई अझ गतिशील बनाउने दिशामा हामी लागेका छौँ ।’





























प्रतिक्रिया