सम्झनामा स्वरसम्राट नारायणगोपाल : आज उनको ३० औं स्मृतिदिवस मनाईंदै (भिडियाेसहित)

सम्झनामा स्वरसम्राट नारायणगोपाल : आज उनको ३० औं स्मृतिदिवस मनाईंदै (भिडियाेसहित)


काठमाडौं ।

नेपाली सङ्गीत जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको आज ३० वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन् ।

बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उनको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । आज उनको ३० औँ स्मृति दिवसको अवसरमा नारायण गोपाल सङ्गीत कोषले उनको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । तर कोरोना प्रभावका कारण यसवर्ष भने विगत जस्तो कार्यक्रम नहुने भएको छ ।

उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदिएको छ । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।

नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उनले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गरेका थिए ।

प्रेम र देशभक्ति गीत गाउन रुचाउने उनले शब्द र सङ्गीतलाई निकै ध्यान दिने गरेका थिए । परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भर्ने काम गरे । उनले जति गीत गाए, सबै उत्तिकै राम्रा छन् । मन छुने छन् ।

नारायण गोपाल पहिलोपटक त्रिचन्द्र कलेजको वार्षिकोत्सवमा साथीहरुको साथ तबला वादकका रूपमा स्टेजमा चढेका थिए । नारायण गोपालले नराम्रा गीत गाउनलाई अस्वीकृत गरेर शब्द र सङ्गीत उत्कृष्ट भएका गीतहरु मात्र गाउने गरेका थिए ।

उनका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । उनी उत्कृष्ट आधुनिक गीतहरु पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिए । प्रेम सम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल भए । नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाएका छन् ।

साङ्गीतिक जीवनमा उनले केही असफलता पनि बहोर्नु परेको थियो । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुपर्यो । उनले भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छोडनुपरेको थियो ।

करीब १०० बढी गीतमा आवाज भरेका उनका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक सङ्गीतलाई हलुका रङ्गीन ठान्नुहुन्थ्यो । पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उनले ‘जाग लम्क चम्क हो नौ जवान हो…’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गरेका थिए।

उनी गायक, सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहेको जानकारहरु बताउँछन् । उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । वि.सं. २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उनीहरुबाट कुनै सन्तान जन्मिएनन् ।

एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन छ, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु, ल सुन मेरो रामकहानी, यति चाखो यति मिठो, तिमीलाई म के भनु लगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भरेका छन् ।

Logo