काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा अनशन सर्वोपरी नहुने प्रतिक्रिया दिएका छन् । संसदमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीप्रति इंगित गर्दै लोकतन्त्रमा अनशन सर्वोपरी नहुने धारणाा राखेका हुन् । ‘‘एक जना अनशन बसेपछि देशै ठप्प हुने, विधि, कानुन, राष्ट्रिय आवश्यकताले कामै नगर्ने अनशन लोकतन्त्रमा सर्वोपरी हुने हुँदैन,’’ उनले भने ।
प्रतिनिधिसभामा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका थिए ।
प्रश्नोत्तरको समयमा थापाले प्रश्न गरे, ‘सरकार र डा. केसीबीच भएको सहमति तोडमोड गरेर समितिले प्रतिवेदन दियो। संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित किन नगर्ने ? प्रधानमन्त्रीको वचन हो प्रधानमन्त्री व्यक्ति हो। गोविन्द केसी ढाल बन्ने होइन प्रधानमन्त्रीको विश्वास ढल्ला भन्ने हो। यसलाई जोगाउने कि ढाल्ने ?’
जवाफमा प्रधानमन्त्रीले डा. केसीसँग भएको सम्झौता तत्कालिन परिस्थितिको उपज भएको र परिस्थितिले सिर्जना गरेको उक्त सम्झौताप्रति सरकार प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।
सरकारले सम्झौताअनुसार संसदमा ऐन प्रस्तुत गरेको भन्दै उनले सरकारसँग बहुमत भएकै भरमा संसदजस्तो सर्वोच्च निकायको मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताए ।
कानुनभन्दा कोही पनि माथि नहुने जिकिर गर्दै ओलीले विधि निर्माणमा सरकारलाई गुमराहमा पर्न नहुनेमा जोड दिए ।





























प्रतिक्रिया