काठमाडौं ।
हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना तयार पारेको बताएको छ । निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुध्रिढ गर्न प्रतिवद्ध व्यवसायीहरुद्धारा रणनीति तयार पारिएको महासंघले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित भयो । त्यस यता विभाजित नेकपाको दुवै समूह एक अर्काको आलोचनामै व्यस्त छ । ओली समूह सरकारको कदमको रक्षा गर्दै अर्को समूहको आलोचनामा व्यस्त छ भने, सरकारको कदमको घोर विरोध गर्दै सडकमा ओर्लीएको प्रचण्ड माधव समूह जनतामाझमा ओली नेतृत्वलाई नंग्याउनैमा तल्लिन छ । यस्तो अवस्थामा शनिबार चितवनमा आफू पक्षीय नेकपाको जनसभालाई भरतपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट प्रचण्ड–माधव निचोरिएर केही नहुने टिप्पणी गरे ।
यता शनिबार नै धनगढीमा आयोजित प्रचण्ड समूहको आमसभामा बोल्दै पुष्पकमल दाहाल र माधव नेपालले ओली कदमको शक्त विरोधमात्र गरेनन् कि, बहुदलीय जनवाद (जबज) र एमाले नै सक्किएको टिप्पणी गरे ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने धारणा अघि सारेका छन् । महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने धारणा अघि सारेका हुन् ।
फाइनलमा सशस्त्र प्रहरीको चुनौति पन्छाउँदै नेपाल आर्मी क्लवले पहिलोपटक प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । चारपटक यस प्रतियोगिताको फाइनलमा पुगेको आर्मीले पहिलोपटक एकल उपाधि हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले नौ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सशस्त्रले १ सय ७८ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । प्रतियोगितामा अपराजित रहेको सशस्त्र फाइनलमा ३३ रनले चुकेको हो ।































प्रतिक्रिया