काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!’
अनौठो हाउभाउ र मीठो बोलीका कारण भाइरल बनेका १३ वर्षिया सचिनको निमोनियाका कारण निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो। तर, आज उनी उपचारकै क्रममा बितेका हुन् ।
गुल्मीका भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू सामाजिक सञ्जालमा छाएका थिए । उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।































प्रतिक्रिया