काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए।
महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए। उनले यस्तो बेलामा पार्टी निर्णयविरुद्ध जान उचित नहुने पनि बताए।
महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए। “देश बनाउने कुरा गफ गरेर हुँदैन। त्यसको जगमा प्रवेश गर्नु सक्नुपर्दछ”, उनले भने।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए।




















