काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको पुनः स्पष्ट गरेकी छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री डा राणाले भनिन्, “सो सम्झौतामा ऋण लिने भनेर कतै लेखिएकै छैन । त्यसमा प्रयोग गरिएको ‘एड’ शब्दको अर्थ पनि मैले बुझेसम्म ऋण भन्ने होइन । तर यहाँ भने किन हो नेपालले ऋणमा सम्झौता गरेको भनेर मात्र भन्ने गरिएको छ ।”
नेपालले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेको र त्यसमा ऋण लिने भन्ने कुरा नलेखिएको स्पष्ट गर्दै उनले भनिन्, “ऋण लिने कुरा त आवश्यकतामा आधारित हुन्छ । हामीलाई ऋण आवश्यक छैन, चाहिँदैन भने दिने पक्षले लिनैपर्छ भन्छ र ?”
मन्त्री डा राणाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गरेकी छन् । उनले भनिन्, “विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ र यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ ।”





























प्रतिक्रिया