रविविरुद्ध थप बिगोसहित बुटवलमा पनि मुद्दा दर्ता हुँदै

रविविरुद्ध थप बिगोसहित बुटवलमा पनि मुद्दा दर्ता हुँदै

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । सहकारी प्रकरणमा कास्की र काठमाडौंमा धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध फेरि अर्को मुद्दा रुपन्देहीमा दर्ता हुने भएको छ।

सुप्रिम सहकारीले रविविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले शुक्रबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा अभियोजन गर्ने भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार यसअघि नै अभियोजन भइसकेका जीबी राईलगायतको मुद्दामा बिगो बढाएको छ। यसअघि नै रुपन्देही अदालतमा २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा बिहीबार जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो।

यसअघि नै प्रतिवादी बनाइएका जीबी राई, ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ । यस्तै उनीहरूविरुद्ध २ करोड ७ लाख रुपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। यसअघि एक अर्ब ३ करोड बिगोसहित उनीहरूविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएको थियो।

सञ्चालक समिति सदस्य समेत रहेका रोकाविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अभियोग थप गरिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ५ करोड बढी बिगो कायम गरिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि लामिछाने आफैँ अदालतमा उपस्थित हुनेछन् । काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि उनी बिहीबार थुनामुक्त भएका थिए ।

प्रहरीले रुपन्देहीमा आफैँ हुने सर्तमा उनलाई परिवारको जिम्मा लगाएको थियो । यसअघि कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यतिबेला पनि लामिछानेले आफैँ काठमाडौं अदालतमा उपस्थिति जनाउने प्रतिवद्धता जनाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।

तर काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहँदा भने उनी प्रहरी हिरासतमा थिए ।

Logo